नेपाली बाइबल - त्रिनिटारियन बाइबल सोसाइटी

 

 

 

त्रिनिटारियन बाइबल सोसाइटी (टी. बी. एस.)

त्रिनिटारियन बाइबल सोसाइटीको छोटो परिचय

त्रिनिटारियन बाइबल सोसाइटीचाहिँ सन् १८३१ सालमा विभिन्न नामले चिनि एका मण्डलीहरूको बीचमा सेवारत संस्थाको रूपमा स्थापित भएको हो, जसले संसारभरिका सबै जातिका मानिसहरूलाई पवित्र धर्मशास्त्र बाइबलका विश्वासयोग्य र विशुद्ध संस्करणहरू उपलब्ध गर्दछ, जुन संकरणहरू हिब्रू र ग्रीक भाषाका सबैभन्दा उत्तम मूल पाण्डुलिपिहरूबाट अनुवाद गरिएका छन्। 

यस संस्थाको उद्घाटन गरिएको वर्षदेखि आजको दिनसम्म हामीले आफ्नो काममाथि परमेश्वरको आशिषको हात रहेको देखिरहेका छौं, यद्यपि यस लामो अवधिभित्र हामीले धेरै परिवर्तनहरू अनुभव गरेका छौं। तर शुरुका दिनहरूदेखि आजको दिनसम्म थुप्रै हेरफेरहरूको बीचमा एउटै कुरा सुदृढ़ रह्यो: हाम्रो लक्ष्य।

त्रिनिटारियन बाइबल सोसाइटीको लक्ष्य यस प्रकारको छ: परमेश्वरको महिमा बढ़ाउनु र मानिसहरूको उद्धारको कार्यमा उन्नति गराउनु हाम्रो उद्देश्य हो। यो उद्देश्य परमेश्वरको आशिषमाथि भर परीकन हामीले देश-विदेशमा पवित्र धर्मशास्त्र बाइबलहरू वितरण गरेर पूरा गर्दै आएका हौं; किनभने यी पवित्र शास्त्रहरूले मानिसहरूलाई ख्रीष्ट येशूमाथि राखिएको विश्वासद्वारा मुक्तिका निम्ति बुद्धिमान् तुल्याउन सक्छन्।

वर्तमान समयमा त्रिनिटारियन बाइबल सोसाइटी अन्तर्गत चालीसवटा भन्दा बढ़ी बाइबल-अनुवादहरू र बाइबलका संशोधन-कार्यहरू चलिरहेका छन्। सम्भव भएमा हाम्रा अनुवादहरू जतिसक्दो बाइबलका मूलभाषाहरूबाट गरिएका हुन्छन् अर्थात्‍ पुरानो नियमको हिब्रू भाषाको मूल पाण्डुलिपि ‘म्यासोरेटी’ नामक गुरुलिपि र नयाँ नियमको ग्रीक भाषाको ‘टेक्सटुस रेसेप्टस’ नामक गुरुलिपि हाम्रा अनुवादहरूका मूल-आधार हुन्। हाम्रो अनुवादको प्रणाली भावात्मक होइन, तर रूपमा समानता कायम राख्ने तरिका हो; यसले गर्दा हाम्रा अनुवादहरू परमेश्वरको प्रेरणाले दिइएको धर्मशास्त्र बाइबलको मूलसित हर तरहले सकेसम्म नजिकैसित मिल्न जान्छन्।

हाम्रो कुनै बाइबल-अनुवाद वा कुनै बाइबल-संशोधनको काम सिद्धिएपछि प्रभुले प्रबन्ध गर्नुभएअनुसार हाम्रो ध्यान त्यसको प्रकाशन र वितरणमा रहिरहन्छ; यसो गर्नुको साथै हामी ती अनुवादहरू फैलाउनुमा पनि मद्दत गर्छौं, जुन बाइबल-अनुवादहरू विशुद्ध, अक्षरश: र भरपर्दा हुन्छन्। यी अनुवादहरू कि ता टी .बी.एस . स्वयम्‍बाट तयार भएका हुन्छन्, कि ता अरू कसैद्वारा सबैभन्दा उत्तम गुरुलिपिहरूबाट तयार भएका हुनुपर्छ। यसो गर्दा हामी सधैंभरि पवित्र शास्त्र बाइबल र परमेश्वरको त्रिएकताको सम्बन्धमा ‘प्रोटेस्टन्ट’-धर्मसुधारका शिक्षाहरू कायम राख्दछौं।


त्रिनिटारियन बाइबल सोसाइटीका लक्ष्यहरू

त्रिनिटारियन बाइबल सोसाइटीको प्रमुख उद्देश्यचाहिँ परमेश्वरको महिमा बढ़ाउनु र मानिसहरूको बीचमा उहाँको उद्धारको कार्यमा उन्नति गराउनु हो। यो उद्देश्य परमेश्वरको आशिषमाथि भर परेर हामीले देश-विदेशमा पवित्र धर्मशास्त्र बाइबलहरू वितरण गरेर पूरा गर्दै आएका हौं। किनभने यी पवित्र शास्त्रहरूले मानिसहरूलाई ख्रीष्ट येशूमामाथि राखिएको विश्वासद्वारा मुक्तिका निम्ति बुद्धिमान् तुल्याउन सक्छन्। यो उद्देश्य हामी निम्न कार्यहरूद्वारा पूरा गर्ने गर्छौं:

→ संसारका धेरै भाषाहरूमा हामी पवित्र धर्मशास्त्र बाइबल छाप्छौं र तिनलाई संसारभरि वितरण गर्छौं।

→ जुन बाइबल- अनुवादहरू हाम्रो दृष्टिमा सठीक र विशुद्ध हुन्छन्, ती अनुवादहरू फैलाउनुमा हामी मद्दत गर्छौं। ती अनुवादहरू हिब्रू भाषाको मूल पाण्डुलिपि ‘म्यासोरेटी’ नामक गुरुलिपि र नयाँ नियमको ग्रीक भाषाको ‘टेक्सटुस रेसेप्टस’ नामक गुरुलिपिसित मिल्नुपर्छ, जुन गुरुलिपिहरूअनुसार अङ्ग्रेजी के.जे. वी. अर्थात्‍ ए .वी.-अनुवाद तयार गरिएको हो।

→ ख्रीष्टको सुसमाचार लिएर हामी यी मानिसहरूकहाँ ज्योति र जीवन ल्याउन चाहन्छौं, जुन मानिसहरू पापमा हराएका छन्‍, आत्मिक अन्धकारमा जिइरहेका छन् र अविश्वास र अधर्मका विभिन्न शैतानिक बन्धनहरूमा परेका हुन्छन्।

→ ‘प्रोटेस्टन्ट’-धर्मसुधारका शिक्षाहरू कायम राख्दै हामी परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मामा अर्थात्‍ तीन व्यक्ति एक ईश्वरमा विश्वास गर्छौं। यसो भन्दाखेरि अनादिदेखि अनन्तसम्म पिता, पुत्र र पवित्र आत्माको परमेश्वरत्व एकसमान हुन्छ र यसमा कुनै हेरफेर हुँदैन भन्ने कुरा स्वीकार गर्छौं।

पवित्र बाइबल परमेश्वरको सासरूपी प्रेरणाले रचिएको परमेश्वरको वचन हो, जसमा कुनै त्रुटि हुँदैन भन्ने कुरा हामी मान्छौं।

→ हाम्रो विश्वास छ, कि ‘प्रोटेस्टन्ट’-बाइबलका अनुवादहरू अर्थात्‍ परमेश्वरको वचनका विशुद्ध अनुवादहरूको वितरणद्वारा अवश्य परमेश्वरको महिमा र उहाँको राज्यको वृद्धि हुन्छ।

यसर्थ हामी तपाईंहरूको प्रार्थनाको सहयोग पाउने आशा राख्दछौं। परमेश्वरको वचन सारा संसारका सबै जातिहरूका भाषाहरूमा उपलब्ध गर्नुमा प्रभुले हामीलाई सहायता गरून्।


टी. बी. एस. को नेपाली बाइबल

सन् १८२१ सालमा सबैभन्दा पहिले नेपाली नयाँ नियम प्रकाशन गरिएको थियो। तर त्यसपछि सम्पूर्ण बाइबल निकाल्नका निम्ति झन्डै एक सय वर्ष लाग्यो। इस्वी संवत् १९१४ सालमा ब्रिटिश एण्ड फोरेन् बाइबल सोसाइटी (बी .एफ.बी .एस.)ले नेपाली भाषामा पूरा बाइबल छापेको थियो। तर नयाँ नियमको प्रकाशन गरेको समयदेखि पूरा बाइबल निकाल्ने समयभित्र बी.एफ .बी.एस .ले बाइबल-अनुवादको ‘टेक्सटुस रेसेप्टस’ नामक गुरुलिपि छोड़ेको र रूपमा समानता कायम राख्ने आफ्नो अनुवाद गर्ने प्रणाली भावात्मक शैलीमा बदली गरेको थियो।

सन् १९७९ सालमा नेपालमा सेवारत भएका एकजना अमेरिकी मिशनरीले सर्वोत्तम नेपाली बाइबल-अनुवाद निकाल्न बोझ उठाए। यसो गर्दा ग्रीक भाषाको सठीक र विशुद्ध गुरुलिपि लिइयो र भाषामा पनि सुधार ल्याइयो; किनभने त्यस पुरानो नेपाली बाइबलको अनुवादमा प्रयोग गरिएको भाषा पुरानो भएको थियो। भारतको दार्जीलिङ्गबाट आएका नेपाली भाषामा पोक्त अनुवादक र नेपालमा प्रभुको सेवा गर्ने स्वीजरल्याण्डको एकजना मिशनरीले रूपमा समानता कायम राख्ने अनुवाद-प्रणाली अपनाएर नयाँ अनुवादको कार्य शुरु गरे। सन् १९९२ सालमा यस अनुवादको नयाँ नियमको प्रकाशन भयो, अनि सन् २०११ सालमा सम्पूर्ण बाइबल छापियो। टी.बी .एस.को यस नेपाली बाइबलमा कतै भारतमा चल्ती भएको नेपाली भाषाको प्रभाव परेको छ, यद्यपि सारा संसारमा बसोबास गरिएका नेपलालीहरूले बुझ्ने भाषा प्रयोग गर्नुमा सकभर प्रयास गरिएको छ। टी .बी.एस .ले प्रकाशन गरेको नेपाली बाइबल सन् २०११ सालदेखि सन् २०२० सालको फेब्रुअरी महिनासम्म सातौं संसकरण वितरण गरिसकियो। यसरी नै हजारौंहजार बाइबलहरू छापिए र मानिसहरूको हातमा पुगिसके। पूर्वदेखि पश्चिमसम्मका पवित्र बाइबलमाथि दृढ़ विश्वास कायम राख्ने प्रशस्त ख्रीष्ट-विश्वासीहरूको बीचमा हाम्रो अनुवाद धेरै चल्ती भएको छ र त्यसको माग भइरहन्छ। हामीले प्रकाशन गरेको नेपाली बाइबल संसारभरि विभिन्न देशहरूमा बसोबास गर्ने मानिसहरूले ग्रहण गरेकोमा र उनीहरूको बीचमा प्रशस्त मात्रामा फैलिएकोमा हामी खुशी छौं। सन् २०१५ सालमा नेपाली ओडियो-बाइबल निस्कियो भने सन् २०१६ सालमा नेपाली-अङ्ग्रेजी दोभाषे संस्करण छापियो। हालैमा नेपाली नयाँ नियमचाहिँ ब्रेलमा निकालिने प्रयास जारी नै छ। यसरी संसारभरि नै नेपा लीहरूको बीचमा प्रभुको अनुग्रहको काम भइरहेकोमा हामी आनन्द मानिरहेका छौं; अनि मत्ती १६ :१८ पदअनुसार प्रभु येशूले आफ्नो मण्डली स्थापित गर्ने काममा हामीले प्रकाशन गरेको पवित्र धर्मशास्त्र बाइबल प्रयोग गर्नुभएको कुराले हामीलाई नम्र तुल्याएको छ। हामीद्वारा लिखित र ओडियो (मौखिक) रूपमा प्रकाशन गरिएको परमेश्वरको वचनमाथि उहाँको नित्य आशिष रहिरहेको होस्‍ भनेर हजुरहरूले हामीसित निरन्तर प्रार्थना गर्नुहुने अपेक्षा गर्दछौं। धन्यवाद।


बाइबल पढ्नुहोस्

 
PDF   अनलाइन - चाँडै आउँदैछ!    

 


सन्दर्भ-शब्दावली:

रूपमा समानता कायम राख्ने अनुवाद-प्रणाली

पवित्र शास्त्र बाइबलको एक-एक शब्द परमेश्वरको सासरूपी प्रेरणाले दिइएको शब्द हो; यसकारण बाइबलको एक-एक शब्द अनुवाद गर्नुपर्छ। रूपमा समानता कायम राख्ने अनुवादको प्रणालीले मूल पाण्डुलिपिहरूमा प्रयोग गरिएका हिब्रू र ग्रीक भाषाका व्याकरण, रूप, शब्दभण्डार र व्याक्य-रचनामा एकदम ध्यान दिन्छ, र यसैले अनुवाद सकेसम्म जस्तोको त्यस्तो हुनुपर्छ। यसर्थ बाइबलको हरेक अनुवाद सकेसम्म अक्षरश :, तर चाहेजति स्वतन्त्र हुनुपर्छ। यही रूपमा समानता कायम राख्ने अनुवादचाहिँ एकमात्र सठीक बाइबल-अनुवाद गर्ने तरिका हो भन्नेमा टी .बी. एस.को सुदृढ़ विश्वास छ।

म्यासोरेटी’ नामक गुरुलिपि

म्यासोरेटी भन्ने शब्द हिब्रू शब्दबाट आएको हो, जसको आधारभूत शब्द ‘मासोरह’ हो, जसको शाब्दिक अर्थ ‘हस्तान्तरण’ हो। म्यासोरेटीहरू नामक यहूदी विद्वान् र शास्त्रीहरूचाहिँ लगभग इस्वी संवत् ५०० सालदेखि सन् १००० सालसम्म कार्यरत थिए। पुरानो नियमको पाण्डुलिपि एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तर गर्ने जिम्मा तिनीहरूको थियो। पछि रब्बी याकूब बेन खय्यिमले तयार गरेको एउटा पाण्डुलिपि लिएर सन् १५२४/२५ सालभित्र श्री दानियल बोम्बर्गले वेनिसमा यहूदी रब्बीहरूको अनुमोदन पाएको दोस्रो बाइबल-संस्करण प्रकाशन गरे। अनि यही पाण्डुलिपिचाहिँ के .जे. वी.-बाइबल अर्थात् ए. वी.-बाइबलको मूल-आधार बन्यो। अनि यही पुरानो नियमको पाण्डुलिपिचाहिँ टी .बी. एस.द्वारा प्रकाशन गरिएको हो।

‘टेक्सटुस रेसेप्टस’ नामक गुरुलिपि

शुरुमा, जब नयाँ नियम पुस्तकको रूपमा छापिन्थ्यो, त्यस बेलामा बिजन्टाइन पाण्डुलिपि प्रयोग गरिन्थ्यो। यसकारण यही बिजन्टाइन पाण्डुलिपिबाट नयाँ नियमका सोह्रौं र सत्रौं शताब्दीका विभिन्न बाइबल-संस्करणहरू छापिए, जुन संस्करणहरू आजको दिनसम्म ‘टेक्सटुस रेसेप्टुस’ अर्थात्‍ ‘हस्तान्तरण गरिएको पाण्डुलिपि’ भन्ने नामले चिनिन्छन्। ती संस्करणहरूको बीचमा सानोतिनो भिन्नता छोड़ेर एकरूपता पाइन्छ। यही आधारमा सन् १५१६ सालदेखि १५३५ सालसम्म श्री एरास्मुसले नयाँ नियमका पाँचवटा संस्करणहरू निकाले। श्री रोबर्ट एट्येन्न्‍, जसको ल्याटिन उपनाम स्टिवनस्‍ थियो, उनी पनि नयाँ नियम छाप्ने गर्थे; साथै श्री थेओडोर बेजा अनि बोनड्वेटुर र अब्राहाम एल्जवीरका दाजुभाइले पनि। सन् १६३३ सालमा यी एल्जेवीर दाजुभाइहरूद्वारा प्रकाशन गरिएको दोस्रो संस्करणको भूमिकामा ‘हस्तान्तर गरिएको पाण्डुलिपि’ भन्ने नाम पहिलो पल्ट देखा पर्‍यो। त्यसपछि आजको दिनसम्म हस्तान्तर गरिएको पाण्डुलिपि अथवा त्यसको ल्याटिन भाषाको ‘टेक्सटुस रेसेप्टस’ भन्ने नाम नयाँ नियमका यी संस्करणहरूका निम्ति प्रयोग गरियो र गरिन्छ, जुन संस्करणहरू यही ग्रीक गुरुलिपि-परिवारबाट तयार गरेर छापिएका हुन्।


पसल

नयाँ नियम (भजनसंग्रह र हितोपदेशको साथ)

फ्लेक्सिबल विनाइलले नयाँ नियम, भजन र हितोपदेश ढाक्छ। यस टी. बी. एस. संस्करणले सन्दर्भ र अध्याय शीर्षकहरू सुविधाहरू प्रदान गर्दछ।

पसल

बाइबल (लचिलो विनाइल)

लचिलो विनाइल कभर बाइबल। यो संस्करण मा सन्दर्भ, अध्याय शीर्षक र नक्शा सुविधा।

पसल

 

नेपाली / अंग्रेजी डिग्लट बाइबल (हार्डब्याक)

टी. बी. एस. नेपाली बाइबलको टेक्स्ट सहित अ्ग्रेजी प्राधिकृत (किंग जेम्स) संस्करणको हार्डब्याक डिग्लट बाइबल। अध्ययन को लागी आदर्श।

पसल

 

 

 

Trinitarian Bible Society, William Tyndale House, 29 Deer Park Road, London SW19 3NN, England · Tel.: (020) 8543 7857
Registered Charity Number: 233082 (England) SC038379 (Scotland)